दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘दुखी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट मिलेको छ । मंगलबार चलचित्रको चलचित्र जाँचपास समिती बाट सेन्सर पास भएको हो ।
यो चलचित्रको टिजर र ट्रेलर सार्वजनिक भएपछि सेन्सरले के गर्छ, दृश्य काँटछाँट गर्छ कि गर्दैन भन्ने धेरैलाई कौतुहलता थियो ।
निर्देशक लामाका अनुसार, यो फिल्मको कुनै पनि दृश्यमा सेन्सर काँटछाँट गरेन । तर, सेन्सरका सदस्यहरुबाट चलचित्रको कथावस्तु र प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिएको निर्माणपक्षले बताएको छ ।
फागुनको २ गते प्रेम दिवसको अवसर पारेर प्रदर्शन हुने यो चलचित्र हेर्नका लागि अब, १६ बर्ष तलका बालबालिकाले बाबु–आमाको साथ लिनुपर्नेछ । निर्देशक लामाले भने–‘हाम्रो चलचित्रको कथावस्तु नयाँ छ । बजारमा विभिन्न अड्कलबाजी गरिएतापनि यो फ्यामिली चलचित्र हो । यसैले, हरेक वर्गका दर्शकले ढुक्कसँग फिल्म हेर्न सक्नुहुनेछ ।’
यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतको अभिनय छ । हिमाल कडरिया निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सुदिप ढकाल र छायांकार आलोक शुक्ला हुन् ।