आगामी चैत्र २२ गतेबाट प्रदर्शन आउने चलचित्र ‘वसन्त’को ‘मिलनको कविता’ सार्वजनिक गरिएको छ । निर्माणपक्षले मंगलबार सार्वजनिक गरेको टिजर कवितामा प्रेमभाव पोखिएको देख्न सकिन्छ ।
यो चलचित्रको टिजर कवितामा यसका मुख्य नायक प्रकाश सपुत र नायिका स्वस्तिमा खड्कालाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ । चलचित्रको टिमले यो टिजरलाई भ्यालेन्टाइन डे स्पेशल कविता भनेको छ ।
प्रकाश सपुतको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रमा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्गबहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।
सपुतको जन्मथलो बाग्लुङका साथै काठमाडौं र तराइका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा प्रकाशकै कथा, पटकथा र संगीत छ । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्नका लागि गरेको संघर्षको कथा यो चलचित्रले पेश गर्छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो चलचित्रमा मोहन विश्वकर्मा र बिन्दु बोहरा निर्माता, अनुरोध भट्टराई, नाना थकाली, वीरेन्द्र नारायण श्रेष्ठ कार्यकारी निर्माता र सुशन प्रजापतिको छायांकन रहेको छ ।