प्रकाश सपुत र परीक्षा लिम्बुको प्रमुख भूमिका रहेको चलचित्र ‘सोल्टिनी’को छायांकन पुरा भएको छ । इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै ३६ दिनमा यो चलचित्रको सम्पूर्ण छायांकन पूरा गरिएको हो ।
भोजपुरको अन्नपूर्ण गाउँमा भएको यसको ‘इन्ड क्ल्याप’ दृश्यमा कलाकारहरू परीक्षा लिम्बु, सब्बु गुरुङ, कविता आले, सुजाता गुरुङ र प्रेम सुब्बाले अभिनय गरे । निर्देशक अर्जुन सुवेदीले चलचित्र ‘सोल्टिनी’को छायाङ्कन समयमै सकिनुको मुख्य कारण पूर्व तयारी रहेको बताए ।
यो चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति छ, जसमा प्रकाश सपूत, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा रहेका छन् । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को मुख्य भूमिका निभाउने चलचित्रको घोषणामा नै बताइएको थियो । यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेको हो ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । चलचित्रको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायांकन सुशन प्रजापतिले गरेका छन् ।
चलचित्रलाई २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ ।