दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मायावी’को प्रचार आक्रामक रुपमा भइरहेको छ । देशका विभिन्न १२ शहरमा चलचित्रको ‘अटो रिक्सामा माइकिङ’ गर्दै प्रचार आरम्भ गरिएको छ ।
यो चलचित्रका कार्यकारी निर्माता करण सिंहका अनुसार, पूर्वदेखि पश्चिमका मुख्य शहरहरुमा व्यापक रुपमा प्रचार भइरहेको छ । पूर्वका मुख्य शहर धरान, इटहरी, विराटनगर, दमक र विर्तामोडमा माइकिङ पब्लिसिटी सुरु गरिएको हो ।
चलचित्र क्षेत्रमा समेत डिजिटल प्रविधीले छोएपछि माइकिङ प्रचार हराउँदै गएको थियो । तर, दर्शकलाई चलचित्रको बारेमा प्रत्यक्ष जानकारी दिनका लागि यो शैली अपनाइएको निर्माणपक्षले जनाएको हो ।
यस्तै, चितवनदेखि बुटवल, पोखरा, दाङ, नेपालगञ्ज, भैरहवा, धनगढी लगायतका शहरमा पनि माइकिङ प्रचार शैली अपनाइएको छ । यसैबिच, यो चलचित्रलाई चलचित्र जाँच पास समितीले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ ।
यही बुधवार महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउने यो चलचित्रमा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नव–नायक समीम खानको मुख्य भूमिका छ । यो चलचित्र लभ स्टोरी जनरामा निर्माण भएको छ ।