‘हर्ष’को शुभमुहूर्त सम्पन्न, आँचलको ठाउँमा वर्षाको प्रवेश

१४ फागुन २०८१ ८:४५

दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘हर्ष’को मुहूर्त गरिएको छ । महाशिवरात्रिको अवसर पारेर बुधबार काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा यो चलाचित्रको मुहूर्त गरिएको हो ।

चलचित्रको मुहूर्त समारोहमा मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, वर्षा राउत, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, सुवर्ण थापा, अंशु थापालगायतको उपस्थिति थियो ।

यसअघि चलचित्रमा अभिनेत्री आँचल शर्मालाई अनुबन्ध गरिए पनि आँचलको ‘जेरी अन टप’को छायांकन सकिन समय लाग्ने भएपछि उनको ठाउँमा वर्षा भित्रिएकी हुन् । उनीसँग निर्माताले मंगलबार लिखित सम्झौता गरेका थिए । 

फागुन १७ गते छायांकन सुरु हुने चलचित्रको कथा निर्देशक पौडेलले लेखेकी हुन् । आलोक शुक्लाको छायांकन तथा वसन्त सापकोटा र एलिश कार्कीको संगीत रहने चलचित्रमा लोकेश बज्राचार्य सम्पादक तथा सुनिल क्षेत्री कोरियोग्राफरको रुपमा छन् । यसको निर्माता प्रसन्न पौडेल र विकास पौडेल हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल छन् ।

ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा बन्न लागेको यो चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेकी एकताले न्यूयोर्क चलचित्र एकेडेमीमा चलचित्र मेकिङसम्बन्धी अध्ययन गरेकी छन् । आमसञ्चार विषयमा स्नातकोत्तर समेत गरेकी उनले यसअघि केही लघु चलचित्र बनाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *