नेपाली चलचित्रका कुशल सम्पादक सुरेन्द्र पौडेलको निर्देशन रहने चलचित्र ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । यो चलचित्रको आइतबार काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै शुभ मुहूर्त गरिएको हो ।
लक्ष्मी पूजाका दिन कात्तिक ३ गते प्रदर्शन हुने यो चलचित्रको छायांकन पनि आइतबार बाट नै सुरु गरिएको छ । चलचित्रका निर्माता आशिस एच तामाङ र श्रीराज कार्की रहेका छन् । चलचित्रमा निर्देशक पौडेलकै कथा र सम्पादन, महेश दवाडीको लेखन रहने छ ।
सामाजिक कथावस्तुमा आधारित यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राईको मुख्य भूमिका रहने चलचित्रमा माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको पनि अभिनय रहनेछ ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्य रहने चलचित्रको छायांकन चितवन र हेटौडाका विभिन्न जिल्लामा गरिनेछ । चलचित्रलाई मानकृष्ण महर्जनले खिच्ने छन् ।