‘होस्टेल ३’को बुकिङ खुला, कस्तो गर्ला ओपनिङ ?

२२ फागुन २०८१ ५:१३

यही शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘होस्टेल ३’को अग्रिम टिकट बुकिङ खुला भएको छ । नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजमा १५ शो तथा वन सिनेमाजमा ९ शो, बिग मुभिजमा ५ शो, र एफक्युब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ शो समावेश छन् ।

बुधवार साँझसम्म देशभर करिब १२० शो सङ्ख्याको अग्रिम बुकिङ सुरु भएको छ भने बिहीबार दिउसोसम्म करिब २५० शो प्राप्त गर्ने अपेक्षा निर्माताहरूले गरेका छन् । हलहरूले उपलब्ध गराएको शो सङ्ख्या हेर्दा यस चलचित्रको व्यापक ओपनिङको प्रक्षेपण गरिएको छ ।

यो चलचित्र युवा पुस्तालाई लक्षित छ, जो नेपाली चलचित्रका मुख्य दर्शक वर्ग हुन्, उनीहरूबिच लोकप्रिय हुने सम्भावना छ ।

सशान कँडेलले निर्देशक गरेको यो चलचित्रको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

चलचित्रको कथा माधव शर्माले लेखेका हुन्, जसले एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन् । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।

चलचित्रको छायांकन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन् । चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *