नामकै कारण चर्चामा ‘आउटलः दफा २१९’

२२ फागुन २०८१ ९:०५

विक्की महर्जनको निर्देशनमा अमित अग्रहरिको लगानी रहेको चलचित्र ‘आउटल’ नाम नयाँ हो । किनकी, नेपाली चलचित्र क्षेत्रमा यस्तो नाममा यसअघि कुनै पनि चलचित्र निर्माण भएको छैन् ।

यसैले, फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आउटलः दफा २१९’ नामकै कारण पनि अहिले निकै चर्चामा छ ।

चलचित्रको प्रदर्शन मिती निजिकिदै गर्दा मंगलबार आयोजित काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रममा यो यसका मुख्य नायक सुशील श्रेष्ठले यही कुरा उठाए । उनले भने–‘आउटल नेपाली चलचित्र क्षेत्रका लागि नयाँ नाम हो । जब देशको कानुनले न्याय दिन सक्दैन, जब शक्ति र सत्ताको दममा जे पनि हुन थाल्छ । त्यसपछि एक जनाको व्यक्तिको जन्म हुन्छ र उसले कानुन हातमा लिएर न्याय दिन थाल्छ । यो चलचित्र हामीले मनोरञ्जनका लागि मात्र बनाएका होइनौं । यो चलचित्रबाट हामीले समाजमा सकारात्मक प्रभाव पार्न खोजेका छौं । यो चलचित्र रिलिज भएपछि दर्शकको मनमा एक प्रकारको छाप बस्छ भन्ने लागेको छ ।’

यो चलचित्रमा सुशीलको भूमिका नकारात्मक हो ? नायक भन्छन्–‘कोही मान्छे पनि यत्तिकै नराम्रो हुँदैन । उसलाई परिस्थिती र समयले नेगेटिभ बनाउने हो । यो चलचित्रमा मैले निर्वाह गरेको पृथ्वीजंग थापाको क्यारेक्टर कति कुरामा राम्रो र कति कुरामा नराम्रो पनि छ । उसलाई परिस्थितीले कानुन भन्दा बाहिर जाने अवस्था बनाउँछ । यसको कथा यही सारमा छ ।’

यो चलचित्रमा नायक श्रेष्ठले भिन्न शैलीको एक्सन गरेका छन् । तर, एक्सन गर्न सहज नभएको उनको भनाई छ । चलचित्रमा सुशीलको हातमा आगो बालेर दृश्य खिचिएको छ । यो दृश्यको बारेमा सुशीलले भने–‘मैले पहिले राजेन्द्र खड्गी, निखिल उप्रेती दाईहरुले हातमा आगो लगाएर स्टन्टको दृश्य दिएको हेरेको थिएँ । त्यो दृश्य हेर्दा जती सहज लाग्छ, गर्दा निकै गाह्रो हुन्छ । तर, नयाँ अनुभव थियो रमाइलो भयो । दर्शकहरुलाई पर्दामा हेर्दा पनि मज्जा आउँछ जस्तो लाग्छ ।’

यो चलचित्रको ट्रेलरले दर्शकबाट पाएको पोजिटिभ प्रतिक्रियाले सुशील निकै नै उत्साहित छन् । साथमा, चलचित्रको मेकिङलाई लिएर अहिले चर्चा निकै छ । सुशील यो चलचित्रबाट बलियो कमब्याक गर्नेमा ढुक्क छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *