‘माया प्रीति’का लागि अडिसन खुला

२३ फागुन २०८१ ६:१५

निर्देशक अवि श्रेष्ठले निर्देशन गर्ने नयाँ चलचित्र ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ । चलचित्रको प्रमुख भूमिकाको लागि पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार, साथै अन्य सहायक भूमिकाका लागि अडिसन खुला गरिएको छ ।

नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी चलचित्रको प्रमुख भूमिकामा अभिनेत्री दिव्या रायमाझी अनुबन्ध भइसकेकी छिन् । चलचित्रको कलाकार म्यानेजमेन्ट कम्पनी लिभेन्ट्स् स्टुडियोका अनुसार यस चलचित्रकी अभिनेत्री दिव्या रायमाझीको जोडीको रूपमा अभिनय गर्ने पुरुष युवा कलाकार तथा अन्य कलाकारहरूको लागि यो अडिसन आह्वान गरिएको हो ।

अडिसनमा सहभागी हुन ९७००६१७४३४ नम्बरमा रहेको ह्वाट्सएपमा सम्पर्क गर्न सकिनेछ । अडिसनमा सहभागिताको लागि इच्छुकले आफ्नो बायोडाटा, फोटोहरूसँगै १ देखि ४ मिनेटसम्मको अभिनयको भिडियो क्लिप पठाउनुपर्नेछ । निर्देशक श्रेष्ठका अनुसार ‘माया प्रीति’मा एक निःशर्त प्रेमको यात्रा हुनेछ, जसमा जस्तोसुकै परिस्थितिमा पनि अविरल प्रेमको महसुस हुनेछ ।

वन टू थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुने यो चलचित्रका निर्माता सुवास चन्द्र प्रधान हुन् । चर्चित अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छिन् भने कार्यकारी निर्माताकै रूपमा फोटोग्राफी र अभिनयको क्षेत्रमा परिचित सन्तोष कुमार कार्की रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *