नेपाली चलचित्र ‘सरौतो’ मा भिलेनको रुपमा दर्शक सामु प्रस्तुत भएका अभिनेता टङ्क धमाला अभिनेताको रुपमा पछिल्लो समय सफलताको सिढी चढिरहेका छन् ।
बेलायतमा बसोबास गर्ने अभिनेता धमालाले अभिनय गरेको ब्रिटिस चलचित्र ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरुमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ ।
ब्रिटिस चलचित्र ‘डेन्जरस गेम’ मा समेत अभिनय गरिसकेका अभिनेता धमालाको यसमा मुख्य भूमिकामा छन् । अभिनेता धमालाले बलिउडको ब्लकबष्टर चलचित्र ‘एनिमल’ सँगै ब्रिटिस एयरवेज, स्वीस एयर, कोकाकोला लगायतका विज्ञापनमा काम गरिसकेका छन् ।
‘मैले गरेका कामहरू मेरो प्यासनको नतिजा हो । मैले अभिनयलाई नछाडेर यससम्बन्धी अध्यन गरेर काम गरिरहेको छु । पछिल्लो समय ब्रिटिस चलचित्रमा देखिदा पाएको प्रतिक्रियाले मलाई उर्जा थपेको छ’, उनले भने ।
विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको फिल्म ‘कामा’ उनले हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा स्क्रीन सेयर गरेका छन् । उनले फिल्ममा आर्मीको भूमिका निर्वाह गरेका छन् । जो युद्धबाट फर्किएर घर आइपुग्दा आफ्नी श्रीमतीको मृत्युको खबर थाहा पाउछन् । त्यसपछि आउने घटनाक्रमले थ्रिलर फिल्मका दर्शकलाई भरपुर मनोरञ्जन दिने अभिनेता धमालाले बताए ।
‘यो चलचित्रमा मैले आर्मीको भूमिकाका लागि शारीरिक रुपमा फिट गर्ने देखि प्राविधिक पक्षलाई पनि ध्यान दिएर तयारी गरें । आर्मीले सोच्ने तरिका, शारीरिक हाउभाउ, उसको मानसिकतालाई ग्रहण गर्नका लागि मैले प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको थिएँ’, उनले भने ।
उनले ब्रिटिस एक्टिङ कोच साइमन गिब्बनसँग अभिनय प्रशिक्षण समेत लिएर तयार गरेको पात्रलाई अवार्ड समेत प्राप्त भईसकेको छ । इटलीमा सम्पन्न ‘मिलान इन्टरनेशनल फिल्म फेस्टिभल’ मा भएको ‘कामा’ को प्रदर्शनीमा टङक सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । सार्वजनिक प्रदर्शन अगाडि आयोजित प्राइभेट स्क्रीनिङमा समीक्षकले उनले निर्वाह गरेको भूमिकाको प्रसंसा समेत गरेका छन् ।
यस्तै, ‘म्याड्रिड इन्टरनेशनल फिल्म फेस्टिभल २०२४’ मा सर्वोत्कृष्ट अभिनेतासहित अन्य अवार्ड जितेको चलचित्र ‘कामा’ ले बेलायत र आयरल्याण्डका हलमा समेत राम्रो प्रतिक्रिया पाईरहेको छ । पेसाले चार्टर एकाउन्टेन्ट भएता पनि उनले चलचित्र सम्बन्धी अध्यन गरेर मोडलिङ सुरू गरेका थिए । सन् २०१८ देखि मोडलिङमा सक्रिय अभिनेता धमालाले पाएको सफलताले अझैँ मेहनती बनाएको बताउँछन् ।
‘नेपाली चलचित्रसँगै भारतीय र ब्रिटिस चलचित्रमा काम गर्ने क्रममा मैले उनीहरुको कार्यशैलीलाई नजिकबाट बुझ्ने मौका पाएँ । यो अनुभवले मलाई आगामी दिनमा अभिनय यात्रामा मदत गर्नेछ भन्ने लागेको छ’, अभिनेता धमलाले भने ।
उनलाई ‘सरौतो’ पछि केही नेपाली फिल्ममा समेत अभिनय गर्ने प्रस्ताव गएको थियो । यद्यपि ‘कामा’ को तयारी र आफ्नै दैनिकीले गर्दा उनले समय दिन सकेनन् । यद्यपि अब उनी नेपाली फिल्मको लागि पनि तयार भएको बताउछन् ।
‘ब्रिटिस चलचित्रमा अनुबन्धित भएकै कारण मैले केही राम्रा अफर पनि स्वीकार गर्न सकिन, किनकि म सम्झौताले बाधिएको थिए । तर, अब नेपाली चलचित्रमा सुहाउँदो भूमिका पाएमा म आफूलाई प्रस्तुत गर्न तयार भएको छु । सङख्यात्मक भन्दा पनि गुणात्मक फिल्ममा देखिने मेरो चाहना छ’, उनले भने ।
ब्रिटिस मोडल एवं एक्टर एजेन्सी लङफोर्ड एसोसियटसँग आवद्ध भएर काम गरिरहेका अभिनेता धमालाले केही नयाँ प्रोजेक्टको तयारी गरिरहेका छन् । उनलाई केही ओटीटी र केही फिचर चलचित्रकै प्रस्ताव आएका छन् । यद्यपि उनी आउँदो दिनमा आफ्नो काम नोटिस हुने गरी प्रोजेक्टसँग जोदिने बताउछन् ।