ऋषि लामिछानेको निर्देशनमा हाल छायांकन भइरहेको चलचित्र ‘माग्ने राजा’को टिमले आज पाँच वटा क्यामेरा राखेर भीड कैद गरेको छ । काठमाडौंको त्रिभुवन विमानस्थल बाहिर हजारौं राजावादीहरुको भिड कैद गरेको हो ।
त्यस्तै, उक्त भिड्मा हातमा राष्ट्रिय झन्डा बोकेर उपस्थित हजारौ मानिसहरुले पोखराबाट आएका ‘पूर्व राजा’ ज्ञानेन्द्र विर विक्रम शाहलाई स्वागत गरे । तर, यो चलचित्रमा पूर्व राजालाई देखाउने तयारी भने गरिएको होइन ।
निर्माणपक्षका अनुसार, यो चलचित्रमा ठूलो भीड कैद गर्नुपर्ने भएकाले आजको भीडलाई क्यामेरामा कैद गरिएको हो । आजको यो भिडलाई निर्माणपक्षले चलचित्रमा कैद गर्न पाएकोमा खुशी लागेको बताए ।
सामिप्यराज तिमिल्सिनाको लेखन रहेको यो चलचित्रमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ‘माग्ने राजा’को भूमिकामा छन् । चलचित्र केदारको साथमा वर्षा सिवाकोटी, आर्यन सिग्देल, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय छ ।
आउँदो वर्षको तीजमा प्रदर्शन गरिने यो चलचित्रलाई मुनाल घिमिरेले निर्माण गरेका हुन् ।