सामाजिक तथा यथार्थपरक विषयमाथि निर्माण गरिएको चलचित्र ‘महाभोज’को प्रदर्शन मिती घोषणा गरिएको छ । मंगलबार यो चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै आगामी जेठ १५ गते बिहीबार गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शनमा आउने घोषणा गरिएको हो । यस मितिमा नेपालसहित नेपालीहरू बसोबास गर्ने प्राय: सबै देशहरूमा एकसाथ रिलिज हुने जनाइएको छ ।
रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा प्रमुख कलाकारहरूको गम्भीर र चुनौतीपूर्ण हाउभाउ छ । पोस्टरको पृष्ठभूमिमा नेपाली मुद्रा झल्किने डिजाइन गरिएको छ, जसले आर्थिक असमानता र सत्ताको प्रभावलाई सङ्केत गर्छ । पोस्टरको केन्द्रमा टोपी लगाएका पुरुषलाई देख्न सकिन्छ, जो अभिनेता आर्यन सिग्देल हुन्, उनले राजनीतिक वा प्रशासनिक व्यक्तित्वको प्रतिनिधित्व गर्न सक्छन् । उनका वरिपरि अन्य कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत छन्, उनीहरूको अनुहारमा आक्रोश, पीडा, अन्याय, र सङ्घर्षका भाव देखिन्छ ।
दिनेश राउतले निर्देशन गरेको यो चलचित्रमा आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिका सहित वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । छायाकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको रहेको छ ।