‘मितज्यू’बाट तेरियाको अभिनयमा डेब्यु

२८ फागुन २०८१ ५:३०

डान्सर तेरिया फौजा मगरले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने पक्का भएको छ । भारतको चर्चित भारतीय टिभी रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता समेत रहेको तेरियाले चलचित्र ‘मितज्यू’बाट डेब्यु गर्न लागेकी हुन् ।

चलचित्र ‘घरज्वाइँ’ निर्माण गरेको समूहले निर्माण गर्न लागेको यो चलचित्रका निर्माणपक्षले सामाजिक संजालबाट यसबारे जानकारी गराएको हो । चलचित्रमा दयाहाङ राईको समेत अभिनय रहने छ ।

चलचित्रलाई अनिल बुढामगरले निर्देशन गर्ने छन् । २०८२ सालको चैत २७ गते प्रदर्शन घोषणा गरिएको यो चलचित्रमा दयाहाङ र तेरियालाई जोडीको रुपमा प्रस्तुत गरिने निर्माणपक्षले जनाएको छ ।

जीएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा जनक घर्ती मगर निर्माण गर्न लागेको यो चलचित्रमा ‘गाउँ आएको बाटो’ फेम्ड पटकथा लेखक महेश राईको लेखन हुनेछ ।

यो चलचित्रको छायांकन आगामी तिहारपछि सुरु हुने जनाइएको छ । तेरियाले यसअघि सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’मा पनि अभिनय गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *