भोलीबाट प्रदर्शनमा आउने चलचित्र ‘अञ्जिला’को अग्रिम बुकिङ सुरु भएको छ । सोमवार काठमाडौंमा भएको प्रिमियरबाट प्राप्त व्यापक सकारात्मक प्रतिक्रियापछि चलचित्रहलहरू पनि उत्साहित देखिएका छन् ।
यो चलचित्रले बुधवार बिहानसम्म ११० बढी शो प्राप्त गरेको छ भने साँझसम्ममा केही शो बढ्ने अनुमान गरेको निर्देशक मिलन चाम्सले बताए ।
चलचित्रमा एञ्जिला तुम्बापो सुब्बाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। मुख्य भूमिकामा एञ्जिला आफैँले अभिनय गरेकी छन् भने अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका छन्। चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो।
निर्देशक चाम्सले नेपाली स्रोत र साधनको अधिकतम उपयोग गर्दै खेलकुदमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण भए पनि ‘अञ्जिला’ले फरक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई चलचित्रले प्रेरित गर्नेमा आशा व्यक्त गर्दै, एञ्जिलाको सङ्घर्षको कथा चलचित्रको पटकथाभन्दा कम नभएको बताए ।
हलमा प्रदर्शनअघि नै प्रिमियर शो हरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको ‘अञ्जिला’ले हलमा हेर्ने दर्शकहरूबाट पनि उत्साहजनक समर्थन पाउने अपेक्षा गरिएको छ ।