निर्देशक सौरभ चौधरीले निर्देशन गरेको चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । कसैले कान फुट्नेगरी हानेपछि आफू बलियो बन्न विपीनले गरेको एक्सरसाइजसँगै टिजर सुरु हुन्छ । त्यसपछि उनी एक्सनमा उत्रिन्छन् । भन्छन्, जे जान्छ, त्यो घुमेर आउँछ ।
टिजरमा टक्कर लिने विपीन कार्कीको फुलअन एक्सन देखाइएको छ । ‘कर्माको खेले हो यो सबै, …न कोही जोगियो न कोही जोगिन्छ ।’
यो संवादले जसरी दर्शकको ध्यान खिच्छ, त्यस्तै एक्सन छ । टिजरले चलचित्रको कथा लुकाएको छ । तर, एक्सन खुलेर देखाएको छ । बाइक स्टन्टले दर्शकको ध्यान खिच्छ ।
टिजरमा विपीनको एक्सनसँगै उनको भावनात्मक पक्ष पनि देखाइएको छ । टिजरमा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेतलगायतलाई देख्न सकिन्छ । विपिन र उपासनाको यो पहिलो सहकार्य हो । चलचित्रमा सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लागायतको पनि अभिनय रहेको छ ।
आगामी चैत २९ गते रिलिज हुने यो चलचित्र एक्सन जनरामा निर्माण भएको छ । चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति र वसन्त लम्सालको लगानी रहेको छ ।