निर्देशक सशान कँडेल निर्देशित गत हप्ता प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’को गीत ‘रक अन’ सार्वजनिक गरिएको छ । चलचित्रको अन्त्यमा राखिएको यो गीतको व्यापक माग भएपछि इन्टरनेटमा रिलिज गरिएको हो ।
गीतमा प्रमुख कलाकारहरू पारस बम ‘कुलब्वाय’ र रिहान गिरीको साथमा समीर काजीको स्वर रहेको छ भने महेश ज्ञवालीको शब्द तथा सङ्गीत रहेको छ । एरेन्ज योगेश काजीले गरेका छन् । चलचित्रले पहिलो हप्ता नेपालमा मात्र ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको थियो ।
यो चलचित्र हाल नेपालबाहिर मध्यपूर्व, अस्ट्रेलिया लगायतका देशहरूमा समेत प्रदर्शन भइरहेको छ भने नेपालीहरूको बसोबास रहने प्राय: सबै देशहरूमा रिलिज हुने निर्देशक कँडेलले बताए । इमिरेट्स, बहराइन, कतार तथा अस्ट्रेलियाबाट पनि यसको व्यापारको चर्चा आइरहेको छ ।
दोस्रो हप्ताको शनिवार पनि चलचित्रको व्यापारमा कुनै कमी नआएको निर्देशक कँडेलले बताए । ‘हामी निरन्तर हल भिजिटमा छौँ र वितरकबाट पनि व्यापार रिपोर्ट लिइरहेका छौँ । दोस्रो हप्तामा पनि व्यापारको उत्साह कायमै छ । दोस्रो शनिवार त झनै व्यापक माहौल देखियो,” कँडेलले भने ।
चलचित्रमा पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँको पनि अभिनय छ ।