फागुन २९ गतेदेखि प्रदर्शन भएको ‘अञ्जिला’ हेर्न स्कुलका विद्यार्थीहरू हल पुगेका छन् । नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ मार्फत प्रेरणात्मक सन्देश प्रवाह हुने भएकाले स्कुलले आफ्ना विद्यार्थीलाई फिल्म हेराएको जनाएका छन् ।
सोमबार दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युएफएक्समा डाफोडिल बोर्डिङ स्कुल र डाफोडिल पब्लिक स्कुलका तीन सय ६० विद्यार्थीले यो चलचित्र हेरेका थिए । यस्तै, रिलिजको दोस्रो दिनदेखि देशभरमा सहरहरूमा पनि विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई यो चलचित्र देखाइरहेको निर्देशक चाम्सले बताए ।
डाफोडिल स्कुलका अरविन्द कुमार मण्डलले विद्यार्थीहरूलाई प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले चलचित्र देखाएको बताए । चलचित्रले सङ्घर्ष, निरन्तरता र सफलता सिकाउने भएका कारण विद्यार्थीहरूलाई एकेडेमिक हिसाबले नै ‘अञ्जिला’ देखाइरहेको विद्यालयहरूले जनाएका छन् ।
चलचित्रका निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले ‘अञ्जिला’ले जीवनमा अगाडि बढ्न प्रेरणा दिने बताए । उनले चलचित्रबाट सङ्कलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग हुने बताए ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो चलचित्रमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।
‘अञ्जिला’ले पहिलो तीन दिनमा २ करोड ७ लाख ग्रस कलेक्सन गरेको जनाइएको छ ।