वैशाख १२ गते प्रदर्शन हुने चलचित्र ‘खेल’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा रहेका छन् ।
पोस्टर रहस्य र डर झल्काउने गाढा निलो र कालो रङ्गको संयोजनमा तयार पारिएको छ । यसको अगाडिको भागमा स्कुले विद्यार्थीहरू र पृष्ठभूमिमा रहस्यमय वातावरण दर्साउने आँखाहरूको डरलाग्दो छाया देखिन्छ । पोस्टरमा चन्द्रमा पनि समावेश छ, जुन रहस्यपूर्ण कथावस्तुसँग सम्बन्धित हुन्छ । पोस्टर रोयल भीमसेनले तयार पारेका हुन् ।
अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेको यो चलचित्र लोककथा, परम्परा, अध्यात्म, थ्रिलर, र सस्पेन्सको मिश्रणमा आधारित रहेको छ । अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका चार साथीहरूको कथा चलचित्रले देखाउनेछ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ । यसमा किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्री लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको यो चलचित्रको निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह-निर्माताहरू कुणानराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । चलचित्रको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् । संवाद विष्णु गैरे, छायांकन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन् ।