पूर्व मिस नेपाल समेत रहेकी नायिका निकिता चण्डक बलिउडमा डेब्यु गर्ने भएकी छिन् । उनले बलिउडका चर्चित निर्देशक संजयलीला भन्सालीले बनाउन लागेको नयाँ चलचित्रमा काम गर्ने पक्का भएको हो ।
निकिताले भन्सालीको चलचित्रमा साइन गरेको जानकारी सामाजिक संजालबाट गराएकी हुन् । निकिताका अनुसार उनी चलचित्रमा सानो भूमिकामा देखिनेछिन् ।
निकिताले चलचित्रको नाम भने अहिले नै खुलाएकी छैनन् । तर, नायिका मनिषा कोइरालापछि बलिउडका चर्चित निर्देशक संजयलीला भन्सालीको चलचित्रमा काम गर्ने दोस्रो नायिका बनेकी छिन् ।
नेपाली चलचित्र ‘साङ्लो’बाट डेब्यू गरेकी निकिताको ‘राजागंज’ अहिले हलमा प्रदर्शन भइरहेको छ । यो चलचित्रमा निकिताको काम गज्जबको छ । जसलाई, समीक्षकले पनि निकै रुचाएका छन् ।