‘हिउँको गीत’को फस्टलुक रिलिज

५ चैत २०८१ ७:०५

ओहायो राज्यको क्लिभल्यान्ड र पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा छायांकन गरिएको चलचित्र ‘हिउँको गीत’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा कलाकारहरूलाई परिचित गराइएको छ भने विषयवस्तुलाई बिम्बात्मक तरिकाले प्रस्तुत गरिएको छ ।

औँठाछापको पृष्ठभूमिमा बनेको पोस्टरले विस्थापनको कथासँगै कलाकारका उदास आँखा र क्षितिज तर्फको दृष्टिमार्फत चरित्रको अनन्त प्रतीक्षाको नियतिलाई संकेत गरेको छ ।

यो चलचित्रमा वर्षा राउत, जोयस पाण्डे, आकाश खतिवडा, ईशिर कर्माचार्य र पूजा चन्द केन्द्रीय भूमिकामा रहेका छन् भने थोमस किथ स्कट, केदार उप्रेती, आर बी खड्का, अर्जुन रसाइली, मनोरथ खनाल लगायतको पनि अभिनय छ । यो चलचित्रमा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका चलचित्रकर्मीले काम गरेका छन् । चलचित्रलाई ह्याप्पी होम स्टुडियोजको लागि जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरेले निर्माण गरेका हुन् ।

नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथालाई समेटेको यो चलचित्रको लेखनमा विमललाई ‘साँघुरो’का निर्देशक जोयश पाण्डेले पनि सहकार्य गरेका छन् । चलचित्रमा भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा, पहिचानको संकट, संघर्ष, नेपाली भाषी भुटानीहरु माथि त्यतिबेलाको शासकले गरेको चरम अन्याय, अत्याचार, बर्बरता र चरम यातना समेटिएको सुवेदीले जानकारी गराए ।

चलचित्रमा जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खनाल कर्माचार्य, आकाश खतिवडा र मनोरथ खनालले कार्यकारी निर्माताको रुपमा र राकेश भट्टराई, रमेश लुइँटेल र पुण्य कुइँकेलले सह निर्माताको रुपमा निर्माणमा सघाएका छन् ।

ओहायो राज्यको एक्रोन, कोलम्बस, पेन्सिलभेनिया वरिपरिका नेपालीभाषी भुटानी समुदायको सहजीकरणमा तयार भएको चलचित्रको निर्माणमा थिएटर भिलेज र गाउँ स्टुडियोको पनि सहकार्य रहेको छ । चलचित्रमा चिनाइन गाउको छायांकन, निशान घिमिरेको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *