यही चैत १५ गते प्रदर्शन हुने चलचित्र ‘डोरी’को १० वटा ‘क्यारेक्टर पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ । चलचित्रको कथा भित्र कलाकारहरूको भूमिकामा आधारित रही पोस्टरहरू तयार गरिएको छ, जहाँ चलचित्रका धेरैजसो पात्रहरूको परिचय गराइएको छ ।
सार्वजनिक पोस्टरहरूमा ‘खुसीको कथा, दोस्तीको कथा, जलनको कथा, योद्धाको कथा, डरको कथा, निराशाको कथा, लोभी साहुको कथा, तस्करीको कथा, सङ्घर्षको कथा, इमानदारीको कथा र पीडित ऋणीको कथा’ राखिएको छ । चलचित्रका कलाकारहरू अरुण लामा, अञ्जना बराइली, राज पौडेल, राज थापा, प्रवीण खतिवडा, प्रकाश घिमिरे, नूतन, शिशिर बाङ्देल र कविता आले रहेका छन् । यसअघि कलाकार वीरेन्द्र सिंह कुशवहाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो ।
अरुण लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा, स्क्रिप्ट डाक्टर मनोज पण्डित, सौरभ लामाको छायांकन, र मिलन लामाको सम्पादन रहेको छ ।