निर्देशक याम शेर्पाले नयाँ चलचित्र ‘मिरमिरे’ निर्माणको घोषणा गरेका छन् । उनले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा समेत गरेका हुन् ।
यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका छन् ।
सूर्यको पहिलो किरणसँगै केही योजना बनाएर केही नयाँ कामको सुरुवातको तयारी गरिरहेको थिम पोस्टरले संकेत गरेको छ । पोस्टरले बिहानीसँगै नयाँ संकल्प गरेको संकेत गरे पनि पात्रको उद्देश्य के हो र के गर्न खोजिरहेका छन् भन्ने प्रष्ट पारिएको छैन ।
चलचित्रको कथा निर्देशक स्वयंले लेख्नेछन् । निमु शेर्पा र चोङ्वा लामा शेर्पाको लगानी रहने चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।कलाकारबारे निर्माणपक्षले जानकारी दिएको छैन । केही समयपछि चलचित्रमा कोको कलाकार रहने जानकारी दिँदै जाने निर्देशक शेर्पाले बताए ।