निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’को प्रदर्शन मिति घोषणा भएको छ । नेपाली नयाँवर्ष २०८२ को अवसरमा पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक ७ गतेलाई प्रदर्शन घोषणा गरिएको हो ।
नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने यो चलचित्र भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने निर्माणपक्षले जानकारी गराएको हो। त्यस्तै, भारतमा पनि सोही मितिमा आउने सेभेन सिजका प्याट्रिक सुवेदीले जानकारी दिए ।
चलचित्रको सार्वजनिक पोस्टरमा यो चलचित्रका शीर्ष कलाकारलाई उनीहरूको चरित्र चित्रणमा प्रस्तुत गरिएको छ । रिम्पोछे लामा थिङ् र सुरेश लामा थिङले निर्माण गरेको चलचित्रलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ ।
भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेणुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यको अभिनय छ । घिमिरेकी कान्छी छोरी पञ्चमीले पनि यसैबाट डेब्यु गरेकी छन् ।