‘घर बट् इन अमेरिका’को ट्रेलरमा नेपाली परिवारको कथा

४ वैशाख २०८२ १०:११

वेब सिरिज ‘घर बट् इन अमेरिका’को ट्रेलर बुधवार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । नेपाली ओटीटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा सार्वजनिक हुने सिरिजको ट्रेलरले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको कथा भन्छ।

सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पारेर यही वैशाख दोस्रो हप्ता एकै पटक १२ वटै एपिसोड स्ट्रिमिङमा आउने भएको छ । सम्पूर्ण छायाङ्कन अमेरिकामै गरिएको सिचुएशनल कमेडी–ड्रामा विधामा आधारित यस सिरिजले अमेरिका पुगेका नेपाली अभिभावक र लिभ–इन रिलेसनशिपमा रहेकी छोरीबीचको सम्बन्ध र त्यहाँको जीवनशैलीलाई उजागर गर्छ ।

यसका निर्देशक तथा प्रमुख कलाकार बिमलेश अधिकारीले सिरिज निर्माणको उद्देश्यबारे जानकारी दिँदै भने, ‘नेपालीहरू अमेरिकामा बस्दै गर्दा हाम्रो जीवनमा के कस्ता घटना घट्छन्, कस्तो जीवनशैली हुन्छ भन्ने कुरा पर्दामा देखाउनु आजको आवश्यकता हो भन्ने महसुस गरेर यो सिरिज बनाइएको हो।’ उनका अनुसार, सिरिजले दर्शकलाई मनोरञ्जनका साथै आत्म–पहिचान र प्रवासी जीवनका यथार्थतासँग पनि जोड्नेछ ।

सिरिजमा अधिकारीसँगै अभिनेत्री अरुणिमा लम्साल पनि अभिनयमा फर्किएकी छन् । उनी झन्डै १० वर्षपछि अभिनयमा पुनरागमन गरेकी हुन् । यसका अन्य प्रमुख कलाकारमा राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा रहेका छन् ।

रोशन घिमिरे निर्माता रहेको सिरिजमा सुमित्रा अधिकारी र कुमारी घिमिरे सह–निर्माता, कथा, पटकथा र संवाद लेखन विवेक चम्लागाईं, सम्पादन मित्र डि गुरुङ रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *