अभिनेता पल शाहको यो वर्ष रिलिज हुन लागेको पहिलो चलचित्र हो, ‘मोहर’ । फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो चलचित्रलाई साउनको २३ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।
निर्माणपक्षले यो चलचित्रका मुख्य नायक पल शाहको केही तस्वीरहरु सार्वजनिक गरेको छ । जहाँ, पल लामो कपाल पालेको अवतारमा छन् । उनको हातमा भरुवा बन्दुक समेत छ । यसले, पलको भूमिका कस्तो होला भन्ने कौतुहलता दर्शकमा पैदा हुने देखिन्छ ।
चलचित्रको कथावस्तुको बारेमा निर्माणपक्षले केही पनि बोलेको छैन । चलचित्रको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको छ ।
ओम प्रतिकको लेखन तथा निर्देशन रहेको यो चलचित्रको निर्माता चुम्बन जंग शाही हुन् । चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा र बाल–कलाकार सारा शर्माको अभिनय छ ।
यो चलचित्रमा दीपेन बस्न्यातको डीओपी, कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ । चलचित्रका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् । कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेकोछ ।