जेठ ९ गतेदेखि प्रदर्शनमा आउने एक्सन ड्रामा चलाचित्र ‘नरसिंहा अवतार’ का लागि निर्देशक दिवाकर भट्टराई गठिलो शरिर र एक्सन गर्नसक्ने रफ एण्ड टफ लुक्सवाला अभिनेताको खोजीमा थिए। यो चलचित्रका लागि यस्तै विशेषता बोकेका अनुहारहरुको आवश्यक्ता थियो।
यो चलचित्रको मूख्य भूमिकाको लागि उनले राज कटुवाल भेटेका थिए भने अर्को एक अनुहारको खोजी गर्दा रमेश चन्द सोडारीलाई भेटेका थिए ।
‘निर्देशक दिवाकर भट्टराई सर ‘नरसिंहा अवतार’को लागि एकजना अलि एक्सनमा निपूर्ण कलाकारको खोजीमा हुनुहुँदोरहेछ । कोरियोग्राफर माइकल चन्दले मेरो फोटोहरु देखाउनुभएछ । फोटो हेरेपछि मलाई मिटिङका लागि बोलाउनुभयो र स्क्रिप्ट सुनाउनुभयो’, रमेशले आफ्नो पहिलो बिगबजेट चलचित्रसँग जोडिनुको प्रसंग सुनाउँदै भने ।
जिम गरेर बनाएको आकर्षक शरिरको साथमा मिक्स मार्सल आर्टको लामो समयदेखिको अभ्यास यो चलचित्रका लागि क्वालीफाइ हुन रमेशका लागि पर्याप्त बन्यो।
यो चलचित्रबाट निक्कै आशावादी रहेको उनी बताउँदै उनि भन्छन्, ‘राम्रो मेहेनत गरेको छु त्यसैले मैले मेरो कामले उचित नतिजा पाउने आशामा छु । दर्शकहरुले मेरो पात्र मनपराउनुहुनेछ, यो मान्छेले राम्रो गरेको छ भन्ने प्रतिक्रिया सुन्न पाउने आशा छ’, उनले भने ।
चलचित्र ‘मेहेन्दो’ बाट नेपाली रजतपटमा डेब्यूको मौका उनले पाए तर चलचित्र रिलिज नै भएन । उनलाई लाग्छ यो चलचित्र रिलिज भएको हुँदो हो त आज उनी करियरका हिसाबले केही फरक अवस्थामा हुने थिए। त्यो चलचित्र रिलिज नहुँदा उनको संघर्षले आशातित नतिजा अझै नपाएको उनको बुझाइ छ ।
त्यसपछि उनले ‘मन त परदेशी’, विराज भट्टको ‘साङ्लो’ तथा ‘वानर सेना’ नामका ३ ओटा चलचित्र गरे । यी सबै चलचित्र उनका लागि सिकाइका पाठशाला भए र अब ‘नरसिंहा अवतार’ भने उनका लागि बोर्ड परिक्षा भएको उनको बुझाइ छ ।
‘यो चलचित्रबाट म आशावादी छु। विग बजेट, विग व्यानर, विग क्यानभासको चलचित्र पाएको छु। चलचित्र बजारमा पनि आशा गरिएको चलचित्र हो यो। कथा प्रस्तुति दर्शकको स्वादलाई ध्यानमा राख्दै बनाइएको छ। अघिल्ला चलचित्रहरु मेरा सिकाइका कक्षा थिए भने ‘नरसिंहा अवतार’लाई मैले बोर्ड परिक्षा ठानेको छु र मैले यसबाट डिस्टिङ्सन ल्याउने गेस गरेको छु। आगे दर्शकको मर्जी’, चलचित्रप्रतिको विश्वास देखाउँदै रमेशले भने ।