ओस्कार अवार्ड: निर्णायकले अब पुरै फिल्म हेर्नु पर्ने

१० वैशाख २०८२ ४:२५

ओस्कार अवार्ड दिने संस्था एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले ९८औँ ओस्कार अवार्डका लागि ठूलो परिवर्तन गरेको छ ।

जस्तो कि, अबदेखि कुनै सदस्यले कुनै विधामा भोट हाल्न चाहेमा उक्त विधामा मनोनित भएका सबै चलचित्र पुरा हेर्नु पर्ने भएको छ । यो नियम बाफ्टामा पहिले देखि नै अवस्थित छ र यसको उद्देश्य मतदान जिम्मेवारी र बुद्धिमानीसँग हुने सुनिश्चित गर्नको लागि गरिएको हो । सदस्यहरूले हेरेका चलचित्रहरूको ट्रयाक राख्न ‘एकेडेमी स्क्रिनिङ रुम’ नामक प्लेटफर्म प्रयोग गरिने भएको छ। यो एकेडेमी सदस्यहरूको लागि मात्र हो।

यदि कुनै सदस्यले प्लेटफर्म बाहिर फिल्म हेर्छ, जस्तै फिल्म महोत्सव, स्क्रिनिङ वा निजी कार्यक्रममा उसले कहिले र कहाँ फिल्म हेरेको हो ? भनी लेखिएको फारम भर्नुपर्नेछ। यो नियम यसअघि अन्तर्राष्ट्रिय फिचर र एनिमेटेड सर्टजस्ता केही विशिष्ट श्रेणीमा लागु भईरहेको भए  पनि अब सबै विधामा लागु गरिएको छ । अब फाइनल मतपत्रमा फिल्मको नाम मात्र नभई मनोनयनमा परेका व्यक्तिको नाम पनि यस सँगैसँगै दिइने भएको छ।

साथै, ‘एचिभमेन्ट इन कास्टिङ’ नामको नयाँ श्रेणी पनि थपिएको छ। यसमा कास्टिङ डाइरेक्टरको भूमिकाको प्रशंसा हुनेछ । जसअनुसार कास्टिङ शाखाले १० चलचित्र सर्टलिस्ट गर्नेछ । यी चलचित्रहरू ‘बेक अफ’ नामक कार्यक्रममा प्रस्तुत गरिने छन्, जसमा ५ मिनेटको क्लिपका साथै प्रश्न र उत्तरहरू समावेश हुनेछन्। त्यसपछि १० वटै चलचित्र हेरिसकेका सदस्यले ५ मनोनयनमा मतदान गर्नेछन् । अन्तमा सबै एकेडेमी सदस्यहरूले मतदानमा भाग लिन सक्षम हुनेछन्, जसलाई सम्पूर्ण प्रस्तुतिको सम्पादित संस्करण पठाइने भएको छ।

उता, अब ‘उत्कृष्ट सिनेम्याटोग्राफी’ विधामा पनि अग्रिम सर्ट लिस्ट बनाइने भएको छ । जसअनुसार यसमा १० देखि २० फिल्म राखिनेछ । अब सर्टलिस्ट प्रक्रिया लागू हुने गरी कुल १२ प्राविधिक विधा हुने भएका छन् । यो प्रक्रिया उत्पादन डिजाइन, पोशाक डिजाइन र फिल्म सम्पादनमा मात्र अब हुने छैन।

उता, जेनेरेटिभ एआई सम्बन्धी पहिलो पटक एकेडमीले नियम बनाएको छ । नयाँ नियमअनुसार फिल्ममा एआई वा डिजिटल टुल प्रयोग गरिएको भए नोमिनेशनमा न त फाइदा हुन्छ, न नोक्सान । फिल्ममा कलाकारले कति वास्तविक काम गरेको छ भन्ने आधारमा निर्णय हुनेछ ।

आगामी सिजनका लागि केही महत्त्वपूर्ण मितिहरू तय गरिएका छन्,  सेप्टेम्बर १० र १३ नोभेम्बर। यी मितिहरू फिल्म कहिले रिलिज हुन्छ भन्नेमा निर्भर हुनेछ र त्यसको आधारमा उत्कृष्ट चलचित्रको विधामा यसको प्रवेश तय हुनेछ। ओस्कार अवार्डको ९८ औं समारोह मार्च १५, २०२६ मा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *