‘खेल’को प्रिमियर कथा वाचनको प्रशंसा

११ वैशाख २०८२ ६:००

भोलि शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘खेल’को प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया सेन्टरस्थित क्युएफएक्स सिनेमा हलमा आयोजित प्रिमियरमा चलचित्रको टिम, पत्रकारहरू, शुभचिन्तक तथा चलचित्रकर्मीहरूको उपस्थिति थियो । प्रिमियरमा ‘खेल’का प्रमुख कलाकारहरू सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम लगायतको उपस्थिति रह्यो ।

यो चलचित्रको प्रिमियरकै लागि भारतबाट यसका निर्देशक अनुराग प्रधान उपस्थित रहे भने अर्की निर्देशक आस्था श्रेष्ठसहित निर्माण टिम सहभागी रह्यो । प्रिमियरमा निर्देशक प्रधानले आफूले बलिउडमा सिकेको ज्ञान नेपाली चलचित्रमा लगाएको बताए । अभिनेत्री सुरक्षा पन्तले युवाहरूले सच्चा मनले बताएको यो चलचित्र सफल हुनेमा विश्वास व्यक्त गरिन् ।

सुरक्षासहित अन्य नयाँ कलाकारहरूको अभिनयको पनि प्रशंसा भएको यो चलचित्र मिथिकल सस्पेन्स थ्रीलर जनराको हो। यो चलचित्रलाई हलिउड चलचित्रको स्तरसँग तुलना गर्दै यसको कथा, पटकथा, संवाद, छायाङ्कन, सम्पादन, कलर र चलचित्रको टोनको प्रशंसा भएको छ ।

अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेको यो चलचित्रमा मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ।

सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको यो चलचित्रको निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन, सह-निर्माताहरू कुणालराज गुरुङ र रहिशराज महर्जन, आशिषराज महर्जनको कथा, अभितेन्द्र र अनुरागको पटकथा, छायाङ्कन रोशन राई र सञ्जय लामा, सम्पादन आशिषराज महर्जनले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *