बक्स अफिसमा बिष्फोटक व्यापार गरिरहेको नेपाली चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’को व्यापार २० करोड माथि पुगेको छ । यो चलचित्रले दोस्रो शनिबारसम्म १७ करोड ९८ लाखको ग्रस कलेक्शन गरेको थियो । चलचित्रले आइतबार २ करोड ७५ लाखको व्यापार गरेको छ ।
योसँगै यो चलचित्रको कुल ग्रस कलेक्शन २० करोड ७३ लाख कटेको छ । चलचित्रले अबको केही दिनमा चलचित्र ‘१२ गाउँ’ले बनाएको २५ करोड ५० लाखको ग्रस कलेक्शनलाई उछिन्ने पक्का छ ।
यो चलचित्रले रेकर्डमाथि रेकर्ड बनाइरहेको छ । सरोज पौडेलको लेखन तथा निर्देशन, महेश दवाडीको पटकथा तथा संवाद रहेको यो चलचित्रले ३५ करोड हारहारीको ग्रस कलेक्शन गर्ने प्रक्षेपण गरिएको छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानीमा तयार भएको यो चलचित्रमा विजय बराल, मुकुन भुषाल, प्रकाश सपुत, अन्जना बराइलीको मुख्य भूमिका छ । विजय अभिनित चलचित्र ‘कबड्डी ४’ले २२ करोडको ग्रस कलेक्शन गरेको थियो । उनै, विजयले आज आफ्नो चलचित्रले बनाएको रेकर्ड तोड्ने देखिएको छ ।