‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ समावेश

२८ माघ २०८१ ५:०७

चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ समावेश गरिएको छ । चलचित्र ‘दैव संजोग’मा समावेश चर्चित गीतलाई समावेश गरिएको हो ।

नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर भरेका छन् । पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । यो गीतको भिडियोलाई ४ दिन लगाएर खिचिएको छ । जरसिंह पौवामा सेट नै लगाएर हिमाललाई काखमा राख्दै यो गीतको भिडियो खिचिएको हो ।

यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रका निर्देशक दिवाकर भट्टराइले १५ लाख रुपैयाँ खर्च गरेर गीतको भिडियो तयार पारिएको बताए ।

यो गीतमा चलचित्रका मुख्य कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिषा भट्टराइले नृत्य गरेका छन् ।

चिसो हावामा र धुलो उडेका कारण पनि छायांकनमा केही कठिनाई भएको कलाकारहरुले बताए । तर, दर्शकले यो गीतको भिडियोलाई रुचाउनेमा उनीहरु विश्वस्त देखिए ।

नायक राजेश हमालले यो गीतले आफूलाई फेरि विगतमा फर्काएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे । गीतको भिडियोमा नायक हमाल र अर्का नायक कटुवाललाई कर्नेलको अवतारमा देख्न पाइनेछ ।

यो चलचित्रमा नायक हमाल र खनालले ३२ बर्षपछि सहकार्य गर्दैछन् । यसैले, दुवैजना गीत छायांकनका क्रममा मिडियासँग उत्साहित देखिए ।
गीतको भिडियो सय कोरस र त्यती नै संख्यामा दर्शक राखिएको छ । एक्सन र लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रमा दर्शकले विविधता देख्न पाउने विश्वास निर्माणपक्षको छ ।

नायक कटुवालले सुरु सुरुमा नायक हमालसँग नाँच्दा केही डर लागेपनि पछि सहज भएको बताए । यो पूर्व मिस नेपाल उषा खड्गीको डेब्यू चलचित्र हो । यसैले, डेब्यू चलचित्रलाई लिएर उनको छुट्टै प्रकारको उमंग देखिएको छ । यही चलचित्रबाट नायक हमाल ८ बर्षपछि पर्दामा फर्किदैछन् । दर्शकका लागि हमालको पर्खाई पनि विशेष हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *