कुमार कट्टेलले निर्देशन गरेको वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ । शान्तीश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्दरचना छ । कृष्ण भारध्वजले संगीत गरेका छन् ।
एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम गीतमा समेटिएको छ । प्रेममा रहेका प्रेमी प्रेमिकाले अनुहार हेर्दै भावले उसको भावना बुझने गीतको शब्द र भिडियोले बुझाउँछ ।
गीतमा सरल शब्द र लय छ । एकपटक सुनेपछि सम्झन सकिने खालको गीत रहेको छ । गीतको भिडियोमा माला लिम्बू, गजित विष्टसँगै चलचित्रका अधिकांश मुख्य कलाकारको अभिनय छ । गेष्ट अपिरियन्सको रुपमा गजित छ । तराई मधेसमा लाग्ने हाट बजारको सेटअपमा भिडियो खिचिएको छ ।
चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।
फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।