एकता पौडेलले निर्देशन गर्न लागेको चलचित्र ‘हर्ष’मा नायक खगेन्द्र लामिछाने र नायिका आँचल शर्मा अनुबन्धित भएका छन् । चलचित्रमा खगेन्द्रको जोडीको रुपमा आँचलले काम गर्ने पक्का भएको हो ।
निर्देशक एकता पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनको यो ‘डेब्यु’ निर्देशन हो । चलचित्रलाई प्रसन्न पौडेल र विकास पौडेलले निर्माण गर्दैछन् । हिक्मत चोखल यो चलचित्रका कार्यकारी निर्माता हुन् ।
निर्देशक पौडेलले न्युयोर्क फिल्म एकेडेमीमा चलचित्र मेकिङ अध्ययन गरेकी छिन् । आमसञ्चारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन् ।
ई प्राइम म्युजिकको व्यानरमा निर्माण हुने यो चलचित्रका अन्य कलाकारहरूको बारेमा केही समयपछि जानकारी दिने निर्माणपक्षको भनाई छ । आलोक शुक्लाको छायांकन रहने यो चलचित्रका प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे हुन् ।