निर्देशक तुलसी घिमिरेको स्वास्थ्यमा समस्या आएपछि चलचित्र ‘पहाड’को छायांकन सुरुभएको एकदिनमै रोकिएको छ । हाल उनको चितवनमा उपचार भइरहेको छ । छायांकन सुरु भएको एक दिनपछि नै निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएको थियो ।
गोरखा दरबार मन्दिरमा केही दिन अगाडि पूजा गर्दै यो चलचित्रको छायांकन प्रारम्भ गरिएको थियो । चिसोका कारण अस्वस्थ रहेका घिमिरेको अहिले स्वास्थ्यमा सुधार आउँदै गएको बताइएको छ ।
घिमिरे अस्वस्थ भएका कारण रोकिएको छायांकन अब कहिलेबाट सुरु हुन्छ पक्का छैन । बुझिएअनुसार, उनलाई केहीसमय घरमै रहेर आराम गर्न डक्टरले सुझाब दिएका छन् ।
घिमिरेले युवा विदेश पलायन हुँदा गाउँका पहाडहरु रित्तिएको कथामा यो चलचित्र बनाइरहेका थिए । यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, प्रियंका कार्की, पञ्चमी घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।