यही फागुन २९ गते रिलिज हुने चलचित्र ‘अञ्जिला’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा देख्न सकिन्छ ।
सार्वजनिक टिजरमा ‘अन्तर्राष्ट्रिय रूपमा पनि देशलाई प्रतिनिधित्व गर्ने निष्कलङ्क एउटा विधा छ भने त्यो खेल नै हो’ भन्ने भाष्यलाई स्थापित गरिएको छ । टिजरमा एञ्जिला आफैँ प्रमुख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा उनका माता पिताको भूमिकामा देखिएका छन् ।
चलचित्रका निर्देशक मिलन चाम्सले एञ्जिलाको विगतका छायाबाट, भविष्यका लागि गरेको सङ्घर्षसम्म रहेको बताउँदै एञ्जिलाको वास्तविक कथामा आधारित चलचित्र रहेको बताए । चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।
गत मङ्सिर २३ गते हङकङमा यस चलचित्रको भव्य वर्ल्ड प्रिमियर भएको थियो भने हाल युकेमा प्रिमियरको आयोजनाको लागि निर्देशक चाम्स र निर्माता श्रेष्ठ लन्डन पुगेका छन् । यो चलचित्र नेपाल रिलिज अगावै युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा समेत रिलिज हुँदैछ ।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा सुदीप बरालको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।