‘लाज शरणम्’को ‘नेपाल हाँसेको’ गीतले बनायो नयाँ रेकर्ड

३० माघ २०८१ ४:४५

फागुन १४ गते महाशिवरात्रीको दिन प्रदर्शन हुने चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ। युट्युबमा यो गीतले रेकर्ड बनाएको हो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो। युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको छ।

२४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने चलचित्रको पहिलो गीत बनेको छ। भ्युज पनि यो गीतले उल्लेख्य पाएको छ।

यो गीत नेपाल बाहेक अस्ट्रेलियामा, युएई, कतार , माल्टामा र कुवेत गरी अन्य पाँच देशको युट्युब ट्रेन्डिङमा समेत रहेको छ। बालेन मेयर भएपछि उनले गाएको गीत पहिलोपटक बजारमा आएको हो। ‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल गीत भनेको छ।

कुमार कट्टेलले निर्देशन गरेको चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *