कर्ण बहादुर फिल्मस् प्रालिको व्यानरमा चलचित्र ‘कार्की साइँला’को निर्माण घोषणा गरिएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर शुक्रबार यो चलचित्रको औपचारिक निर्माणको घोषणा गरिएक हो ।
राजेन्द्र बस्नेतको निर्देशन रहने यो चलचित्रको प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् । बालकुमार राई र श्याम मगर निर्माता रहेको चलचित्रको पोस्टर समेत सार्वजनिक गरिएको छ । पोस्टरमा पहाडी क्षेत्रमा भारी बोकेर ओरालो हिँड्दै गरेको एक भरियालाई प्रस्तुत गरिएको छ । पोस्टर हेर्दा चलचित्रले ग्रामीण जीवनलाई देखाउने बुझ्न सकिन्छ ।
यो चलचित्रले ग्रामीण भेगमा बस्ने भुइँ मान्छेको कथालाई प्रस्तुत गर्ने निर्देशक बस्नेतले बताए । ‘हाम्रो पात्र भरिया हुन्छ । उसले गाउँभरीका सबै मान्छेहरुलाई रिजाएर भारी बोकेर सबैको मनमा बसेर उसको जीविकोपार्जन गर्ने काम गर्छ’, निर्देशक बस्नेतले भने ।
चलचित्रमा डम्बरबहादुर राईको छायांकन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद, जीवनाथ गौतमको गीत हुनेछ । धनकुटाको सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानमा छायांकन हुने चलचित्रका लागि कलाकार छनोटको काम सुरु गरिएको निर्माण पक्षले जनाएको छ ।