द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको चलचित्र ‘भाईरल गोर्खे’को फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनमा आउने भएको हो ।
सार्वजनिक पहिलो पोस्टरमा अभिनेता सौगात मल्ललाई भाईरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्तामा प्रस्तुत गरिएको छ । त्यस्तै, अर्को पोस्टरमा उनको सामाजिक सञ्जालमा लाइभ अनि अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा समेत देखिएका छन् । यसले चलचित्रले पछिल्लो समय नेपालमा विकृतीको रुपमा मौलाउदै गरेको भाईरल प्रवृतीलाई व्यंग गरेको बुझ्न सकिन्छ ।
‘नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुने जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ,’ निर्देशक निगम श्रेष्ठले भने, ‘यसमै हाम्रो यो चलचित्र केन्द्रित रहनेछ । भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम चलचित्रमा देखाइने छ ।’
चलचित्रमा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ । विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको चलचित्रमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् ।
निगम श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रमा अमर महर्जनको छायांकन रहेको छ । चलचित्रलाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।
