चार महिनामा ‘बलिदान’को छायांकन ‘इन्डक्ल्याप’

४ फागुन २०८१ ५:१८

निर्देशक सन्तोष सेनको निर्देशन रहेको चलचित्र ‘बलिदान’को छायांकन सकिएको छ । यो चलचित्रको छायांकन चार महिनामा पूरा भएको निर्माणपक्षले जनाएको छ । शुक्रवार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा लिइएको अन्तिम दृश्यमा अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माको अभिनय सँगै चलचित्रको सम्पूर्ण छायांकन पुरा भएको हो ।

निर्देशक सेनका अनुसार, चलचित्रलाई ‘महान् चलचित्र’ बनाउने यात्रामा कुनै सम्झौता नगरिएको र कथाको सिर्जना, कलाकार, प्राविधिक, र प्रविधिको छनोट सोचेभन्दा राम्रो गर्न सफल भएको बताए।

निर्माण टोलीको मेहनतबारे बोल्दै उनले थपे, ‘चार महिनासम्म रातदिन रगत-पसिना बगाएर मेहनत गर्‍यौँ । यस चलचित्रको लागि सम्पूर्ण टिमले जुन बलिदानी दिएको छ, त्यसलाई शब्दमा मात्र धन्यवाद दिएर पुग्दैन । म विश्वस्त छु, उनीहरूको काम ‘बलिदान’ मार्फत अमर रहनेछ ।’ सेनले भने ।

चलचित्रको सम्पादन कार्य अब छिट्टै सुरु हुने र पोस्ट प्रोडक्सनका क्रममा पनि कुनै सम्झौता नगर्ने निर्देशक सेनले बताए । चलचित्रको प्रदर्शन मितिबारे भने निर्देशकले आफ्नो पुरानै कथन दोहोर्‍याउँदै भने, ‘अब छिट्टै टिजर रिलिज हुनेछ, जसमा रिलिज मिति घोषणा गरिनेछ ।’ उनले भने ।

यो चलचित्रमा पहिलो चलचित्र ‘१२ गाउँ’बाट व्यापक चर्चा पाएका अभिनेता समीर भट्टको प्रमुख भूमिका र साथमा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतका दिग्गज कलाकारहरूको अभिनय रहेको छ ।

‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा आधारित रहेको बताइएको छ । चलचित्रमा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य खिचेका थिए । यस चलचित्रको क्लाइमेक्स दृश्यहरू छायाङ्कनका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसको व्यापक चर्चा भएको थियो ।

आसुसेन फिल्म्स प्रा.ली प्रस्तुति रहेको यो चलचित्रको लागि साङ्गीतिक संस्था आर्टमान्डु टिमका सदस्यहरूले सङ्गीतका विभिन्न पक्षहरूमा कार्य गरेका छन् । गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको समूहले ‘बलिदान’का गीत, सङ्गीत तथा ब्याकग्राउण्ड म्युजिकमा काम गरिरहेको छ । चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *