यही फागुनको १४ गते महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको प्रतिक्षित चलचित्र ‘लाज शरणम’को प्रचारप्रसार नगर्न र नगराउन पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
पूर्वमन्त्री मोहम्मद अफताव आलमले यो चलचित्रका मुख्य कलाकार शिताराम कट्टेल ‘धुर्मुस’को सबैकुरा आफ्नो अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
आलमले दायर गरेको उक्त रिटपछि मुद्दामा सुनुवाइ गर्दै मंगलबार न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै आलमले रिट दायर गरेका थिए ।
अदालतले भनेको छ, ‘निवेदकको संविधान कानून प्रदत्त हक अधिकारमा आघात परेको अवस्था भए अनुमति दिने क्रममा सपठीत ऐनको दफा ८ (३) बमोजिम केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने नै देखिँदा सो अगावै निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरि पात्रले अभिनय गरेको प्रस्तावित लाज शरणम नामक चलचित्रको विज्ञापन सामाजिक संजाल तथा अन्य सार्वजनिक संचारमाध्यममा प्रचारप्रसार र सो सम्बन्धी पोस्टहरु प्रकाशन, प्रसारण नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (३) बमोजिम अन्तरिम आदेश जारी गरि दिएको छ । प्रस्तुत आदेशको जानकारी विपक्षीहरुलाई दिनू ।’
जेपीटी क्रिएसनको ब्यानरमा कुमार कट्टेल जिग्री ब्रोले निर्देशन गरेको यो चलचित्रको आज बुधबार ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माणपक्ष थियो ।