किरण नेपाली प्रस्तुतकर्ता रहने चलचित्र ‘कल्ली’ छायांकनको लागि नायक उत्तम प्रधान नेपाल आइपुगेका छन् । भोलीदेखी छायांकन हुने यो चलचित्रको लागि उत्तम शुक्रबार नेपाल आइपुगेका हुन् ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रको छायांकन अवधिभर नै उत्तम नेपालमा रहने निर्माणपक्षले जनाएको छ । चलचित्रको काठमाडौं आसपासका जिल्लाहरुमा नै छायांकन गरिने जनाइएको छ ।
उत्तम एक दशक भन्दा लामो समयपछि नेपाली चलचित्रमा फर्किन लागेका हुन् । यो बीचमा उनले नायिका निरुता सिंहसँग एउटा म्युजिक भिडियोमा काम गरेका थिए ।
लक्ष्मण सुनारको कथा तथा निर्देशन चलचित्रमा उत्तम मुख्य भूमिकामा छन् । चलचित्रमा उत्तमका साथमा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
हिमाल कडरिया र अमला देबी राईको लगानी रहने यो चलचित्रमा महेश दवाडीको लेखन, निसाल पौडेलको छायांकन र सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको निर्माण प्रमुख सुरज आचार्य हुन् ।