विश्वका १३ देशको ट्रेन्डिङमा ‘होस्टेल ३’को ट्रेलर

११ फागुन २०८१ ५:०६

सशान कँडेलले निर्देशन गरेको चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएको २१ घण्टामा नै युट्युबमा १० लाख भ्युज पुरा गरेको छ भने विश्वका १३ देशमा ट्रेन्डिङमा रहेको छ ।

नेपाल र कुवेतमा पहिलो स्थान हासिल गरेको ट्रेलरले विशेष गरी खाडी मुलुकहरू, युरोपियन देशहरू, बेलायत, जापान, अस्ट्रेलिया तथा कोरियामा यसको उल्लेखनीय प्रभाव देखिएको छ। कतारमा दोस्रो, पोर्चुगलमा तेस्रो, साउदी अरेबियामा चौथो, रोमानिया र संयुक्त अरब इमिरेट्स (UAE) मा पाँचौँ स्थान ओगट्न सफल भएको छ । यस्तै जापान र अस्ट्रेलियामा सातौँ स्थान, माल्टामा पनि सातौँ स्थान, मलेसियामा एघारौँ स्थान, दक्षिण कोरियामा चौधौँ स्थान, र बेलायत (UK) मा अट्ठाइसौँ स्थान ओगटेको छ ।

यो तथ्याङ्क हेर्दा यस चलचित्रको ट्रेलरले नेपालसहित नेपालीहरूको बसोबास रहेका विश्वका विभिन्न देशहरूमा उल्लेख्य प्रभाव छोडेको छ । निर्देशक कँडेलले अर्ग्यानिक रूपमा आइरहेको भ्युज देख्दा आफ्नो सपना पुरा भइरहेको महसुस गरेको बताए ।

“ट्रेलरले प्राप्त गरेको अपार मायाले हामीलाई अत्यन्त हौसला प्रदान गरेको छ । १३ देशमा ट्रेन्डिङ हुनु र छोटो समयमै १० लाख भ्युज पार गर्नु नेपाली सिनेमाका लागि गर्वको विषय हो । दर्शकहरूबाट अर्ग्यानिक रूपमा प्राप्त यो माया हाम्रो मेहनतको प्रतिफल हो । चलचित्रलाई अझ राम्रो बनाउन हामीले गरेको प्रयास सफल भएको महसुस गर्दैछु । सम्पूर्ण दर्शक, शुभचिन्तक, र टिमलाई हार्दिक धन्यवाद,” निर्देशक कँडेलले बताए ।

ट्रेलरले कलेज तथा होस्टेल जीवनका अनुभव, रमाइला क्षणहरू तथा चुनौतीपूर्ण परिस्थितिहरूलाई प्रस्तुत गरेको छ । ट्रेलरमा मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि ट्रेलरमा देखिन्छन् ।

चलचित्रको कथा माधव शर्माले लेखेका हुन्, जसले एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन् । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन् ।

यही फागुन २३ गते रिलिज हुने तयारीमा रहेको चलचित्रको छायांकन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *