तुलसी घिमिरेको निर्देशनमा तयार हुने चलचित्र ‘पहाड’ को रोकिएको छायांकन सुरू भएको छ । गत माघ २२ गते मुहूर्त गरेर छायांकन सुरू गरिए पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायांकन रोकिएको थियो ।
आफ्नो स्वास्थ्य अनुकुल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिकाअनुसार नै गोरखामा छायांकन भइरहेको निर्देशक घिमिरेले जानकारी दिए । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको चलचित्रले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पु¥याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।
‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । चलचित्रको विषय अनुसार हामीले कलाकार चयन गरेका छौँ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु,’ उनले भने ।
स्वास्थ्यलाभ गरेर छायांकनमा फर्किएपछि निर्देशक घिमिरेले नयाँ ऊर्जाका साथ काम भइरहेको बताए । ओजस्वी केसी निर्माता रहेको चलचित्रलाई प्रमोद प्रधानले छायांकन गरिरहेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलिफिल्मसमेत छायांकन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन् । छायाँकार प्रधान तीस वर्षपछि नेपाली चलचित्र छायांकनका लागि नेपालमा आएका हुन् । चलचित्रको छायांकन गोरखा र आसपासमा २५ दिन र भारतमा १५ दिन हुने निर्देशक घिमिरेले जानकारी दिए ।
भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्रमा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायतका कलाकारले अभिनय गरिरहेका छन् ।
रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको यो चलचित्रलाई नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।