निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्ने चलचित्र ‘कल्ली’को छायांकन सुरु भएको छ । काठमाडौंको बौद्धमा अवस्थित एक घरबाट यो चलचित्रको छायांकन सुरु गरिएको हो ।
३५ दिन लामो सेड्यूल लिएर छायांकन सुरु गरिएको यो चलचित्रको केही दिन काठमाडौंमा हुनेछ । त्यसपछि बाँकी छायांकनका लागि जुम्ला प्रस्थान गर्ने निर्माणपक्षले जनाएको छ ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकनको पहिल दिन नायक नाजिर हुसेन, नायिका वर्षा राउत, कलाकार उत्तम प्रधान लगायतको दृश्य खिचिएको छ । चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
किरण नेपाली प्रस्तुतकर्ता रहेको यो चलचित्रमा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन, सरोज नेपाली कार्यकारी निर्माता र निसाल पौडेलको छायांकन रहनेछ ।
१३ वर्षपछि चलचित्रमा कमब्याक गर्न लागेका कलाकार उत्तम प्रधान निकै उत्साहित देखिए । उनले भने–‘यो चलचित्रको कथावस्तु मलाई निकै मन पर्यो । मैले यसअघि गरेका चलचित्रको भन्दा भिन्न भूमिका रहेकाले काम गर्न लागेको हुँ । मलाई यो बिचमा थुप्रै चलचित्रबाट अफर पनि आएको हो । तर, आफ्नो भूमिका नै चित्त नबुझेका कारण मैले चलचित्रमा काम गरिनँ ।’
सुटिङ सेटमा भेटिएका नायक नाजिर हुसेन र नायिका वर्षा राउतले आफूहरू श्रीमान्–श्रीमतीको भूमिकामा देखिन लागेको बताए । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।