फागुन १४ गते भोलिदेखि प्रदर्शनमा आउने चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ उत्साहजनक देखिएको छ । सोमबार साँझबाट हलले अग्रिम बुकिङ खुला गरेको चलचित्रको उत्साहजनक टिकट बुकिङ देखिएको हो ।
कतिपय हलका शो मंगलबार दिउँसो नै हाउसफुल भइसकेका छन् । ललितपुरको लाविम महल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स, बानेश्वरको आईएनआईलगायत हलका केही शो हाउसफुल भइसकेका छन् ।
काठमाडौंको सिभिल महललगायतका हलमा पनि ठूलो संख्यामा टिकट बिक्री भइरहेको छ । रिलिजको २४ घण्टा अगाडि नै शो हाउसफुल हुनु र धेरै अग्रिम बुकिङ हुनु चलचित्रको राम्रो व्यापार गर्ने संकेत हो ।
अग्रिम बुकिङ राम्रो हुँदा मल्टिप्लेक्स सिनेमा हलहरूले शो थप्न थालेका छन् । काठमाडौंमा क्यूएफएक्सले दुई शो थपिसकेको छ । शो खोल्दा काठमाडौंमा क्यूएफएक्सले २९ शो दिएकोमा अहिले ३१ शो छ ।
तुलनात्मक रूपमा अग्रिम बुकिङ जुन चलचित्रको राम्रो छ, अरुको शो घटाएर उसलाई हलहरूले शो थप्दै जान्छन् । यो चलचित्रलाई देशभर करिब दुई सय शो प्राप्त भएको छ ।
कुमार कट्टेलले निर्देशन गरेको चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।