सुशीलको ‘आउटलः दफा २१९’को एक्सन प्याक ट्रेलर सार्वजनिक
१६ फागुन २०८१ १२:४५
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘आउटलः दफा २१९’को एक्सन प्याक ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार यो चलचित्रको प्रतिक्षित ट्रेलर सार्वजनिक गरेको हो ।
फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको ट्रेलरले दर्शकको उत्सुकता ह्वात्तै बढाउने देखिन्छ । ट्रेलर हेर्दा यसको मेकिङ, कथावस्तु, एक्सन गज्जब देखिएको छ । नायक सुशील श्रेष्ठलाई ‘एक्सन स्टार’मा रुपमा प्रस्तुत गरिएको चलचित्रमा उनको काम पनि तारिफ योग्य देखिएको छ ।
चलचित्रमा समावेश केही संवादहरू दर्शकको नजरमा पर्न सक्छन् । ‘यहाँ व्वासोहरु झुण्डमा हिँडेर आफूलाई वाघ ठान्छन् । तर, वाघलाई के थाहा बाघ एक्लै आउँछ र एक्लै शिकार गर्छ ।’ यो बाहेक अन्य केही संवाद पनि दर्शकको नजरमा पर्न सक्छन् ।
अमित अग्रहरी र निशा गुइडेको लगानी रहेको चलचित्रमा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी छ ।
एक्सन र न्यायको कथामा निर्माण भएको यो चलचित्रमा बिकास चौधरी सह–निर्माता, कार्यकारी निर्माता विनोद कठायत, साहिल खानको सम्पादन र चुल्ठे काजीको एक्सन निर्देशन छ ।
चलचित्रमा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियारको अभिनय छ ।