रिम विश्वकर्माको निर्देशनमा तयार भएको चलचित्र ‘हेल्लो काशिराम’को फस्टलुकसँगै प्रदर्शन मिति तय गरिएको छ । निर्माणपक्षले सोमबार यो चलचित्रको फस्टलुक पोस्टरसँगै आउँदो वर्षको जेठ २ गतेलाई प्रदर्शन मिती तय गरेको हो ।
सार्वजनिक पोष्टरमा नायक दिलीप रायमाझी प्रस्तुत छन् । सार्वजनिक पोस्टरमा दिलीप बोको बोकेर हिँडेको देख्न सकिन्छ । जुन, पोस्टर हेर्दा यो चलचित्र कमेडी शैलीमा निर्माण भएको अनुमान गर्न सकिन्छ ।
रेडलाइन फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रमा निर्देशक रिमकै लेखन छ । तर, निर्माणपक्षले यो चलचित्रको कथावस्तुको बारेमा अहिलेसम्म केही पनि बोलेको छैन ।
चलचित्रमा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई, भगेरी डन, नव ज्योती रसाइली, सुमन खाँण लगायतका कलाकारहरूको अभिनय रहेको छ । यो चलचित्रमा नायिका प्रियंका कार्की अतिथि भूमिकामा छिन् ।
पीवी थापाको निर्माण तथा यम आलेको छायांकन रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन, कविराज गहतराजको नृत्य निर्देशन, शंकर महर्जनको एक्सन, नरेन्द्र वियोगी र विपिन आचार्यको संगति छ ।