नेपालमा अपूर्व सफलताको यात्रा तय गरिरहेको चलचित्र ‘अञ्जिला’को अन्तर्राष्ट्रिय प्रदर्शनबारे सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइरहेको भन्दै निर्माताहरूले आधिकारिक स्पष्टीकरण जारी गरेका छन् ।
चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्स द्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार, हालसम्म जापान, कोरिया, क्यानडा, र हङकङ बाहेक अन्य कुनै पनि देशको वितरण तथा प्रदर्शन अधिकार बिक्री गरिएको छैन । सामाजिक सञ्जालमा विश्वव्यापी रूपमा चलचित्र रिलिज गर्न लागेको दाबी गरिरहेको पाइएको, जुन पूर्ण रूपमा भ्रामक र आधारहीन रहेको विज्ञप्तिमा उल्लेख छ ।
निर्माताहरूका अनुसार, अन्य देशहरूको लागि अब आधिकारिक रूपमा वितरण अधिकार दिन सुरु गरिएको छ । इच्छुक वितरक तथा प्रदर्शकहरूलाई आधिकारिक माध्यमबाट मात्र सम्पर्क गर्न अनुरोध गरिएको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’लाई लिएर दर्शक तथा समीक्षकहरूले चलचित्रको कथा, प्रस्तुति, अभिनय, र निर्देशनलाई निकै सराहना गरिरहेका छन् ।
मिलन चाम्सको निर्देशमा बनेको यो चलचित्रलाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका छन् । चलचित्रमा कलाकार समेत रहेका श्रेष्ठ एन्जिलाका ‘गड फादर’ हुन् । शीर्ष भूमिकामा एन्जिला आफैले अभिनय गरेकी छिन् । चलचित्रमा माओत्से गुरुङ र दयाहाङ राईले एञ्जिलाका बुबाको भूमिका निर्वाह गरेका छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निभाएकी छन् । सुमिन गुरुङले दाजुको भूमिका, सुनिल थापाले कोचको भूमिका निभाएका छन् । साथै, यसमा बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।