मनिषाको नेपाली चलचित्रमा काम गर्ने चाहना

१० चैत २०८१ ६:२९

बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री मनिषा कोइरालाले फेरि नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छिन् । नेपाली चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी उनले बलिउड चलचित्रमा काम गरेको धेरै लामो समयपछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गरिन् ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उनले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताएकी हुन् ।

‘म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ । पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई मैले नियालेकी छु।’ उनले भनिन् ।

अन्तरक्रियाकै क्रममा अभिनेत्री कोइरालाले आफू राजनीतिमा आउन र चलचित्र निर्माणका लागि तयार नरहेको बताइन् । उनले हाल एउटा पुस्तकमा काम गरिरहेको जानकारी दिइन् ।

उनी अभिनीत पछिल्लो भारतीय वेब शृङ्खला ‘हिरामण्डी’ले निकै चर्चा प्राप्त गर्‍यो । भारतीय निर्देशक सञ्जयलीला भन्सालीले निर्देशन गरेको सो शृङ्खला भारत र नेपालमा लोकप्रिय भयो । अभिनेत्री कोइरालाले निर्देशक भन्सालीसँग चलचित्र ‘खामोसी’ मा काम गरेको २८ वर्षपछि दोस्रो सहकार्य गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *