‘महाभोज’को लागि निश्चलले रेकर्ड गरे ‘लालुमै’

१० चैत २०८१ ११:०८

आगामी जेठ १५ गते प्रदर्शनमा आउने चलचित्र ‘महाभोज’का लागि निर्देशक, अभिनेता तथा गायक निश्चल बस्नेतले नयाँ गीत रेकर्ड गरेका छन् । हालै काठमाडौंको स्टुडियो फिलमा उनले लालुमै शीर्षकको गीत रेकर्ड गरेका हुन्, जसमा हर्क साउदको शब्द तथा केतन क्षेत्रीको सङ्गीत रहेको छ ।

निर्देशक दिनेश राउतले यो चलचित्रलाई निर्देशन गरेका छन् । निश्चल बस्नेतलाई ‘काले दाइ’ भनेर चिनाउने अवसर निर्देशक राउतकै २०७४ सालमा रिलिज भएको चलचित्र पर्व को लोकप्रिय गीत ‘काले दाइ’बाट मिलेको थियो । उक्त गीतमा बस्नेतले स्वर दिएका थिए भने नृत्याङ्गना माला लिम्बुसँग नृत्य समेत गरेका थिए ।

निर्देशक राउतका अनुसार, लालुमै गीतको लागि निश्चल बस्नेत नै उपयुक्त आवाज भएका कारण उनलाई नै रोजिएको हो । ‘८ वर्षअघि पर्व को गीतका लागि निश्चललाई गाउन लगाउँदा एक अलग अनुभूति आएको थियो । अहिले लालुमै मा पनि फरक भोकल टोन आवश्यक परेकोले निश्चललाई नै लिएको हुँ,’ राउतले भने । पहिले ‘काले दाइ’ को रूपमा परिचित निश्चल अब ‘लालुमै’को नयाँ परिचयसँग दर्शकमाझ आउने राउतले दाबी गरे ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । छायाकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको रहेको छ ।

चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *