हसनराजाको ‘वन अफ द मिलियन्स’को छायांकन प्याकअप

१४ चैत २०८१ ६:५९

विशाल सापकोटाले निर्देशन गरेको चलचित्र ‘वन अफ दि मिलियन्स’को छायांकन सम्पन्न गरिएको छ । चलचित्र ‘अलबिदा’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक हसनराजा खानको प्रमुख भूमिका रहेको यो चलचित्रको छायांकन अमेरिकामा सम्पन्न गरिएको हो ।

निकै छोटो समयमा चलचित्रको छायांकन सकिएको निर्माणपक्षले जनाएको छ । निर्माणपक्षका अनुसार चलचित्रको छायांकन ११ दिनमा सकिएको हो ।

एक नेपाली आप्रवासीको अमेरिका पुग्ने सपनाको कथा चलचित्रले पेश गर्छ । अवैध बाटो अपनाएर आफ्नो भविष्य बनाउने आशामा घरपरिवार छाडेर अमेरिका पुग्नका लागि जोखिम मोल्ने नेपालीको कथामा चलचित्र निर्माण गरिएको छ । हसनको साथमा कलाकार सुवास थापा लगायत अन्य २० जना अमेरिकामा नै रहेका कलाकारहरूको अभिनय छ । चलचित्रलाई रामेश्वर कार्कीले खिचे हुन् ।

सन् २००९ मा काठमाडौंमा आयोजित ‘मिस्टर क्यापिटल’ जितेका हसनले ‘अलबिदा’पछि ‘रोमियो’ नामक चलचित्रमा अभिनय गरेका थिए । यो चलचित्रबाट पनि आफूलाई दर्शकहरुले अझै बढी साथ दिने हसनको विश्वास छ ।

हसनले सन् २०१५ मा कतारको राजधानी दोहामा आयोजित ‘नेफ्टा अवार्ड’मा उत्कृष्ट नव–नायकको अवार्ड जितेका थिए भने उनी न्युयोर्कमा आयोजित ‘ग्लोबल फिल्म अवार्ड’मा पनि सहभागी हुँदै चलचित्र ‘डिपार्चर’ निर्माणको घोषणा गरेका थिए । चलचित्र ‘वन अफ दि विलियन्स’लाई विभिन्न अन्तराष्ट्रिय महोत्सवमा रिलिज गरिने र त्यसपछि नेपालमा रिलिज गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *